मन्थली नगरको बजेट १ अर्ब ३ करोड २० लाख


रामेछाप – मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु एक अर्ब तीन करोड २० लाख १५ हजारकाे बजेट पेश गरेकी छिन् ।

नगरसभाको १९औँ अधिवेशनमा चालुतर्फ ७४ प्रतिशत र पुँजीगततर्फ २६ प्रतिशत बजेट विनियोजन गरिएको छ । उक्त रकम गतवर्षको तुलनामा १ करोड ४५ लाख ४९ हजार कम रहेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले बताए ।

उनले भने, ‘चालु आवमा नगरको आन्तरिक आम्दानी घटेका कारण गत वर्षको तुलनामा केही बजेट विनियोजन कम हुन गएको हो ।’ नगरप्रमुख लव श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभाले आगामी आव २०८३/४ को नीति तथा कार्यक्रम र पूँजीगत र चालु बजेटका साथै चालु आवको र पुँजीगत र चालुअन्तर्गत खर्च भएको बजेटको अनुमोदन गरेको छ ।

नगरसभा ‘शिक्षित, स्वस्थ र व्यावसायिक सहर, उत्थानशील र समृद्ध मन्थली नगर’ भन्ने मूल नाराका साथ आज सम्पन्न भएको छ ।