शाखा विस्तारमा ब्रेक लगाउँदै वाणिज्य बैंक, धेरै शाखा भएका एनआईसी र ग्लोबलले घटाउन थाले


काठमाडौं – विगतमा आक्रामक रूपमा भौतिक उपस्थिति बढाउँदै आएका वाणिज्य बैंकहरूले पछिल्लो समय शाखा विस्तारमा ‘ब्रेक’ लगाएका छन्। डिजिटल बैंकिङ्गको बढ्दो प्रयोग, उच्च सञ्चालन खर्च नियन्त्रण र सेवाको प्रभावकारितालाई ध्यानमा राख्दै बैंकहरूले नयाँ शाखा खोल्नुको साटो पुराना शाखा गाभ्ने (मर्जर) रणनीति अख्तियार गर्न थालेका हुन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म २० वाणिज्य बैंकको कुल शाखा संख्या ५ हजार ९९ पुगेको थियो।

यो अघिल्लो वर्षको तुलनामा मात्र ४३ ले बढी हो। त्यसअघिका वर्षहरूमा शाखा विस्तारको गति तीव्र रहे पनि चालु आर्थिक वर्ष ०८३/८४ को साउनदेखि चैतसम्मको ९ महिनामा बैंकहरूको कुल शाखा संख्या घटेर ४ हजार ९ सय ८४ मा झरेको छ। यस अवधिमा बैंकहरूले व्यावसायिक रूपमा सम्भाव्य नदेखिएका ११५ वटा शाखाहरूलाई एकापसमा गाभेका छन्।

कुनै समय वाणिज्य बैंकहरूबीच शाखा संख्या बढाउन तीव्र प्रतिस्पर्धा हुने गथ्र्यो र यसलाई बैंकको क्षमता मापनको बलियो आधार मानिन्थ्यो। तर, पछिल्लो समय बैंकहरूले भौतिक शाखाभन्दा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र डिजिटल सेवा केन्द्रित रणनीति अपनाउन थालेका छन्। शाखाबाट हुने कारोबार र ग्राहकको उपस्थिति घटेपछि सञ्चालन खर्च धान्न समेत असहज हुन थालेपछि बैंकरहरूले महानगरपालिकाभित्रका शाखा समायोजन गर्न केन्द्रीय बैंकको स्वीकृति आवश्यक नपर्ने माग राख्दै आएका थिए।

बैंकरहरूको यही मर्कालाई बुझेर नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नीतिगत सहजता गरिदिएको हो। विद्युतीय भुक्तानी बढेको र महानगरहरूमा बैंकका शाखाहरू उल्लेख्य रहेको सन्दर्भमा बैंकहरू स्वयम्ले शाखा समायोजन वा एकीकरण गर्न सक्ने राष्ट्र बैंकको यो व्यवस्थाले विशेषगरी धेरै शाखा सञ्जाल भएका एनआईसी एशिया र ग्लोबल आईएमई जस्ता बैंकहरूलाई खर्च घटाउन ठूलो मद्दत पुर्याएकाे छ।

बैंकहरूले शाखाबाट हुने कारोबारमा मन्दी आएसँगै खर्च कटौतीका लागि नजिक रहेका वा कम कारोबार हुने शाखा गाभ्न सुरु गरेको बैंकरहरूको भनाइ छ। नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष सुनिल केसीका अनुसार अहिले अधिकांश भुक्तानी र बैंकिङ्ग कारोबार डिजिटल भइसकेकाले भौतिक शाखामा ग्राहकको चाप घटेको हो।

‘अहिले अधिकांश भुक्तानी र बैंकिङ्ग कारोबार डिजिटल भइसकेकाले भौतिक शाखामा ग्राहकको उपस्थिति घटेको छ,’ केसीले भने,’अर्कोतर्फ, बैंकहरूलाई सञ्चालन लागतको ठूलो दबाब छ। यस्तो अवस्थामा सहरी क्षेत्रमा रहेका र आवश्यकभन्दा बढी देखिएका शाखाहरू मर्ज गर्नु पूर्ण रूपमा सान्दर्भिक र व्यावहारिक छ।’प्रविधिको बढ्दो प्रयोग र केन्द्रीय बैंकको प्रोत्साहनमूलक नीतिका कारण आगामी दिनमा बैंकहरूले भौतिक संरचनाको साटो डिजिटल पूर्वाधार र सेवाको गुणस्तर सुदृढीकरणमा बढी जोड दिएका छन्।

धेरै शाखा भएका बैंकले घटाउन थाले ब्रान्च
अहिले पनि बैंकहरूले शाखा मर्जरलाई तिव्रता दिइरहेका छन्। राष्ट्र बैंकले सहज नीति लिएपछि धेरै शाखा सञ्चालन गर्दै आएका बैंकहरूले कारोबारको आकार र आवश्यकताको आधारमा शाखा समायोजन गर्दै आएका छन्। डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा बैंकहरूले शाखा विस्तारको रणनीतिमा पुनर्विचार गर्न थालेका हुन्। केही ठूला बैंकहरूले अहिले शाखा संख्या घटाउने तथा मर्जर गर्ने नीति अवलम्बन गर्न थालेका छन्। धेरै शाखा रहेका बैंकहरूमध्ये एनआईसी र ग्लोबल आईएमई बैंकले शाखा मर्जरलाई जोड दिएका हुन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०२४/२५ सम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै शाखा रहेको एनआईसी एशिया बैंकले आफ्ना शाखा संख्या घटाएको छ। बैंकको शाखा संख्या २०२४ मा ४७९ रहेकामा २०२५ मा ४७६ कायम भएको छ। तर, बैंकको सो शाखा अहिले थप घटेर ४२८ कायम भएको छ। त्यस्तै, दोस्रो धेरै शाखा सञ्जाल भएको ग्लोबल आईएमई बैंकले पनि शाखा संख्या ४२४ बाट २०८२ असारसम्म ४२२ मा झारेको छ। हाल बैंकको यस दर पनि घटेर ३४४ कायम भएको छ। माछापुच्छ्रे बैंकले समेत १७८ रहेको शाखा संख्या घटाएर १७७ कायम राखेको छ। मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यूआर भुक्तानी तथा डिजिटल वालेटको प्रयोग बढ्दै जाँदा ग्राहकको शाखाको कारोबार घटेको छ।

उपमहानगर र नगरपालिकाको शाखा समेत मर्ज गर्ने तयारीमा बैंक
महानगरका मर्ज गरिसकेका बैंकहरूले उपमहानगरपालिका र नगरपालिकाभित्र रहेका नजिकका शाखाहरू समेत मर्ज गर्ने इच्छा देखाइरहेका छन्। डिजिटल बैंकिङ्ग र विद्युतीय भुक्तानीको प्रयोग बढ्दै जाँदा एउटै क्षेत्रमा धेरै शाखा सञ्चालन गर्नु खर्चिलो बन्दै गएको कारण बैंकहरूले उपमहानगरपालिका र नगरपालिकाभित्र रहेका नजिकका शाखाहरू समेत मर्ज गर्ने व्यवस्थाको खोजी बैंकरहरूले गरेका छन्।

महानगरभित्र रहेका बढी शाखाहरू मर्ज गरिसकेको एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित शाक्य उपमहानगरपालिका तथा नगरपालिकाभित्र रहेका कतिपय शाखाहरू समेत मर्ज गर्नुपर्ने अवस्था रहेको बताउँछन्। उनले राष्ट्र बैंकले व्यवस्था गरेको खण्डमा उपमहानगर र नगरपालिक भित्र रहेका नजिकका शाखा मर्ज गर्नुपर्ने अवस्था छ। डिजिटल कारोबार बढिरहेको समयमा बैंकको शाखा नजिक हुँदा अनावश्यकक शाखाको रुपमा परिवर्तन हुँदै गएको छ।

शाक्यले सञ्चालन खर्च घटाउन तथा डिजिटल सेवामा केन्द्रित हुन बैंकले शाखा मर्जलाई तिव्रता दिएको बताए। यसअघि राष्ट्र बैंकले महानगरपालिका क्षेत्रभित्रका शाखा समायोजन वा मर्ज गर्न सहज व्यवस्था गरेको छ भने उपमहानगरपालिका र नगरपालिकाभित्र रहेका शाखा मर्जका लागी कुनै व्यवस्था गरेको छैन। तर, अधिकांश ठाउँमा बढी शाखा भएको अनुभव गरिरहेका बैंकहरूले उपमहानगरपालिका र नगरपालिकाभित्र रहेका नजिकका शाखाहरू समेत मर्ज गर्ने व्यवस्थाको माग सुरु गर्ने भएका छन्।