बुटवललाई पर्यटक विश्रामस्थल बनाउन सरोकारवालाको जोड

बुटवललाई पर्यटक विश्रामस्थल बनाउन सरोकारवालाको जोड


बुटवल ।
लुम्बिनी प्रदेशमा विश्व शान्तिका अग्रदुत गौतमबुद्ध जन्मस्थल लुम्बिनीसहित दर्जनौं पर्यटकीय स्थल भएर पनि प्रादेशिक पर्यटन गुरुयोजना बनाएर काम नहुँदा पर्यटकको बसाई लम्ब्याउन र लाभ लिन नसकिएको सरोकारवालाको ठम्याई छ ।

प्रादेशिक पर्यटन गुरुयोजना नहुँदा तीनै तहका सरकारको पर्यटन बजेट हचुवाको भरमा र छरिएर खर्च हुँदा अनुत्पादक भएको र अत्यावश्यक पर्यटन पुर्वाधार बन्न नसकेको सरोकारवालाहरुले औंल्याएका छन् ।

रुपन्देही व्यापार संघले बुटवलमा सञ्चालन गरेको लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलामा आयोजित पर्यटन प्रवद्र्धन विषयक अन्तरक्रियामा प्रादेशिक पर्यटन गुरुयोजना निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिए ।

प्रदेश पर्यटन विकास परिषदका प्रमुख रामु जोशीले प्रदेशको पञ्चवर्षिय योजनामा पर्यटन गुरुयोजना पनि समेट्ने तयारी भइरहेको बताए । मुलुक संघीय संरचनामा गएको धेरै लामो समय नभएकाले प्रदेश पर्यटन गुरुयोजना निर्माण नभएको भन्दै अब ढिलाई गर्न नहुने जोशीले बताए । उनले बुटवललाई पर्यटक विश्रामस्थल बनाउन बुटवल उपमहानगरपाकिलाले पर्यटन गुरुयोजना बनाउनुपर्ने सुझाए ।

‘प्रदेशमा बुद्धजन्मस्थल लुम्बिनीसहित तिलौराकोट, रामग्राम र देवदहदेखि रुकुमको सिस्ने हिमालसम्मका २ सय ८३ वटा पर्यटकीय गन्तव्य छन् ।’ जोशीले भने, ‘यी सबै स्थानमा पर्यटकीय पुर्वाधार बनाउने गरी गुरुयोजनामा समेट्ने सरकारको तयारी छ ।’ गुरुयोजनामा हरेक स्थानीय तहमा पर्यटन शाखा र पर्यटन विकास समिति गठनलाई अनिवार्य गरिने र पर्यटनमा हुने खर्चलाई एकीकृत लगानी गरेर छिटो प्रतिफल आउने गरी काम गर्नुपर्ने उनले बताए ।

पर्यटकलाई आकर्षित गरी बसाई लम्ब्याउन सुविधायुक्त फराकिलो पार्किङस्थल र पर्यटक बस चाहिने जोशीले सुझाए । बेलहिया नाकाबाट आउने पर्यटक सिधै पोखरा जाने परिपाटी रोकेर बुटवलमा बास बस्ने वातावरण बनाउन होटेल र पर्यटन व्यवसायीले खानाका परिकारमा बुटवलको छुट्टै रैथाने ब्राण्ड सहित स्थानीय टुर प्याकेज बनाउनुपर्ने जोशीले सुझाए । उनले सामुदायिक वनहरुमा जंगल वाक, नेचर वाक, हाइकिङ, ट्र हाउस, चरा संरक्षण, पोखरी निर्माण लगायतका गतिविधि गरेर पनि पर्यटकको बसाई लम्ब्याउन सकिने बताए । जिल्ला वा प्रदेशभित्रका विद्यालय, सहकारीहरुले पहिले प्रदेशभित्रकै पर्यटकीय स्थल घुम्नुपर्ने गरी गुरुयोजना र नीति बनाउनुपर्ने औंल्याए ।

बैंक तथा व्यवसायिक संघसंस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च हुने रकम बुटवलको शहरी सौन्दर्यीकरण, सरसफाई र वातावरण संरक्षणमा खर्च गरे त्यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने जोशीले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल भैरहवाका महाप्रबन्धक हंशराज पाण्डेले पर्यटकीय विकासको लागि हवाइ यातायात मात्र नभइ स्थल मार्ग पनि सहज र सुगम हुनुपर्ने बताए । ‘अन्य देशमा विमानस्थलदेखि मुख्य शहरसम्म सटल बस सेवा हुन्छन् । कमसेकम सटल एक्सप्रेस नभएपनि सेड्युल बस सेवा हुनसक्छ ।’ उनले भने ‘बुटवलको मुख्य ठाउँदेखि एयरपोर्टसम्म बस सेवा दिनुस् । विमानस्थलले के सहकार्य गर्नुपर्छ गर्छ ।’

पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलप्रति विदेशी विमान कम्पनीहरुले चासो दिइरहेको भन्दै उनीहरुले अध्ययन गरिरहेकाले ढिलोचाँडो भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने विश्वास व्यक्त गरे । नेपाल चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंक पोखरेलले पर्यटन प्रवद्र्धन सम्बन्धी बहस धेरै भएकाले अब ठोस कार्यक्रमका साथ अघि बढ्नुपर्ने उल्लेख गरे ।

मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले तिनाउ नदीमा जलाशययुक्त ड्याम बनाएर बाह्रैमास पानी बग्ने बनाई डुंगा शयर र जल पर्यटनको विकास गर्नुपर्ने बताए । उनले अंग्रेज फौजलाई नेपाली फौजले हराएको ऐतिहासिक जितगढी किल्लामा नेपाल–अंग्रेज युद्धको झल्को दिने यद्ध संग्रहालय बनाउने र यसलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटक भित्राउन गुरुयोजना बनाउनुपर्ने सुझाए । ‘चिडियाखोलादेखि दक्षिणमा मगरघाटसम्म जलाशययुक्त ड्याम बनाउने र नदीको दुबैतर्फ पक्की सडक बनाई जल पर्यटनको विकास गर्ने हो भने यहां पर्यटकलाई आकर्षित गरी भुलाउन सकिन्छ ।’ नेपालले भने, ‘जल पर्यटनसंगै जितगढीमा यद्ध संग्रहालय पनि बनाउनुपर्छ ।’

पर्यटनविज्ञ बलबहादुर आचार्यले प्रदेशको पर्यटन गुरुयोजना बनाएर मात्र पर्यटन पुर्वाधारमा लगानी गर्नुपर्ने बताए । योजनाविनाको कनिका छराई लगानीले पर्यटकमैत्री पुर्वाधार बनाउन नसकिने भएकाले गुरुयोजना अनुसार विविधतायुक्त र विशिष्टीकृत सेवा पर्यटकलाई पस्कन सक्नुपर्ने बताए ।

उद्योग वाणिज्य संघ बुटवलका उद्योग उपाध्यक्ष सुरज भट्टराईले जितगढी किल्लामा सन्ध्या आरती, सैनिक परेड, जातीय सांस्कृतिक नाच पर्यटकलाई देखाउन सके पर्यटक आकर्षित हुने बताए । रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले पर्यटकले चाहे जति रकम ल्याउन दिए मात्रै पर्यटन व्यवसायबाट लाभ लिन सकिनेमा सरकारी नीति वाधक भएको औंल्याए । उनले पुरानो बुटवल बजारलाई पुरानै शैलीमा पुनःनिर्माण गर्नसके पर्यटकका लागि आकर्षक गन्तव्य हुने सुझाए ।
लुम्बिनी होटल व्यवसायी संघका महासचिव पुरुषोत्तम अर्यालले पर्यटन गुरुयोजना र टुर प्याकेज नहुंदा लुम्बिनी आउने ७० प्रतिशत पर्यटक बास नबसी फर्कने गरेको बताए ।

‘पर्यटन गुरुयोजना नबन्दा पर्यटकको बसाई लम्ब्याउन सकिएको छैन ।’ उनले भने, ‘पर्यटकलाई जबरजस्ती बसाल्न खोजेर मात्रै बस्दैनन् यहाँ अनुदानमा पर्यटक बस समेत चल्न सकेका छैनन्,सरकारी नीति नै बाधक छ । ’बस व्यवसायी जीवन बन्जाडेले बेलहिया नाका आसपासमा त्यहाँका होटेल व्यवसायीले राति ८ बजेपपछि कुनै पनि बसलाई चल्न नदिँदा पर्यटक बुटवल आउन नसकेको औंल्याए ।

रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमरे, पुर्व अध्यक्ष मोतिलाल पाण्डे, मोतिराज ज्ञवाली, व्यवसायी दिवाकर घिमिरे लगायतले लुम्बिनी एक्स्पो ब्यापार मेला मात्र नभई पर्यटन प्रवद्र्धन गर्ने माध्यम पनि भएको हुँदा पर्यटनका सम्भावना र चुनौति पहिचान गर्न पर्यटन अन्तरक्रिया गरिएको बताए । लुम्बिनी प्रदेश संवाददाता