वित्तीय संस्थाबिना देशको अर्थतन्त्र सुधारको सम्भावना छैन : मन्त्री महत

वित्तीय संस्थाबिना देशको अर्थतन्त्र सुधारको सम्भावना छैन : मन्त्री महत


काठमाडाैं- अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय संस्था बिना देशको अर्थतन्त्र सुधारको सम्भावना नरहेको बताएका छन् । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट (बीएफएसएल) २०२३ समिटमा अर्थमन्त्री महतले डिजिटल रेगुलेसनमा आएको परिवर्तनले सामान्य नागरिकालाई पनि सहजै उद्यमशील बन्न प्रेरित गरेको बताए।

‘अहिले डिजिटल टेक्नोलोजीमा जुन किसिमको क्रान्ति आएको छ, यो हाम्रो लागि अवसर र चुनौती दुवै हो,’ उनले भने।

कार्यक्रम उद्घाटन गर्दै मन्त्री महतले नेपाल र भारतबीच भएको कारोबारले नेपालको आर्थिक उन्नतिमा सहयोग पुगेको बताए । वैशाखमा हुने लगानी सम्मेलनले धेरै लगानी नेपाल भित्रिने भन्दै उनले सरकारले वैदेशिक लगानी भित्र्याउन पहल गरिरहेको बताए ।

उनले नेपालको बीमा क्षेत्रमा धेरै काम गर्न बाँकि नै रहेको बताए । ‘नेपालको इन्स्योरेन्स सेक्टरमा धेरै काम गर्न बाँकि नै छ । अब अन्य देशले कस्ता प्रयास गरेका छन् त्यसलाई हेरेर हामीले यो क्षेत्रमा काम गर्नुपर्दछ ।’

हाल डिजिटल मार्केटिङ पनि बढ्दै गएकाे बताउँदै उनले वित्तीय क्षेत्रका व्यक्तिहरुलाई डिजिटलाइजेसनमा जोड दिन आग्रह गरेका छन् ।

यस्तै मन्त्री महतले नेपाल केही महिनामै कन्ट्री रेटिङमा जाने बताएका थिए।