के हो ऋणपत्र ? लगानीकर्तालाई जोखिम कम कसरी हुन्छ ? 

के हो ऋणपत्र ? लगानीकर्तालाई जोखिम कम कसरी हुन्छ ? 


सुरेश शर्मा, काठमाडौं 
ऋणपत्र एक मध्यम एवम् दीर्घ अवधि ऋण उपकरण हो । यसलाई कम्पनीले निष्चित ब्याज दरमा पैसा ऋण लिनको लागि प्रयोग गर्दछन् । अझै वृहत रुपमा भन्नुपर्दा ऋणपत्र भन्नाले कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधि, अचल जायजेथा धितो राखेको भए सोको अवस्था आदी शर्तहरु उल्लेख गरि आधिकारिक रुपमा गरिदिएको लिखित पत्र हो । 

यसरी कम्पनीले सार्वजनिक सूचना प्रकाशन गरि कम्पनीको अचल जायजेथा धितो वा बन्धक राखी वा नराखी ऋण पूँजी उठाउन सक्छ । यसमा लगानी गर्ने लगानीकर्ताले आफुले गरेको लगानी रकममा तोकिएको ब्याजदर प्राप्त गर्दछन । साधारण सेयर र अग्राधिकार सेयरधनीलाई लाभांश दिनुअघि नै ऋणपत्रका लगानीकर्ताले ब्याज प्राप्त गर्दछन् । यसरी ऋणपत्र द्धारा उठाइएको रकम कम्पनीको पूँजी संरचनाको अंश बन्छ तर शेयर पूँजी हुदैन ।

संगठिक संस्था नोक्सानीमा गएपनि लगानीकर्ताले प्राप्त गर्ने तोकिएको ब्याज भने प्राप्त गर्दछन, त्यसमा कुनै बाधा पर्देन । लगानीकर्ता र कम्पनीबीच साहु र ऋणीको जस्तै सम्बन्ध हुन्छ । कथमकदाचित कम्पनीले ऋणपत्र जारी गर्दा तोकिएको दर र समयमा ब्याज प्राप्त गर्न असमर्थ भएमा ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले कम्पनीलाई खारेजीमा पठाउने सम्मको कारवार्ही समेत चलाउन सक्दछन ।

तर ऋणपत्र धारीहरूको कम्पनीको साधारणसभामा मताधिकार नहुने भएकाले कम्पनीको व्यवस्थापन नियन्त्रणमा भने उनीहरूको प्रभाव हुँदैन । त्यस्तै ब्याजदर पूर्वनिर्धारित हुने भएकाले कम्पनीले धेरै नाफा आर्जन गर्दा पनि ऋणपत्रधारीहरूले नाफामा दाबी गर्न पाउँदैनन् । ऋणपत्रको परिपक्व अवधि दीर्घकालीन हुने भएकाले कम्पनीका लागि आवश्यक पर्ने स्थिर सम्पत्ति खरिद गर्न ऋणपत्रमार्फत पुँजी उठाइन्छ ।

पुँजीको आवश्यकता नभएमा केही रकम प्रिमियमबापत थप गरी फिर्ता गर्न सकिने प्रावधान हुन्छ । ऋणपत्रमा दिइने ब्याजलाई अन्य खर्चजस्तै तिर्नुभन्दा अगाडि नै खर्च लेख्न पाइन्छ जसले गर्दा कम्पनीको करको दायित्व कम हुन्छ । प्राय जोखिम लिन नचाहने लगानीकर्ताका लागि ऋणपत्रमा लगानी उत्तम विकल्प हो । 

ऋणपत्र खरीद गर्दा हुने फाइदाहरु 

१) कम्पनीहरुले अर्धवार्षिक र वार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गर्छन । जसले गर्दा यस ऋणपत्रमा जम्मा भएको रकमले कुनै आम्दानी नगरे पनि बार्षिक रुपमा दिने भनीएको ब्याज प्रदान गर्ने ग्यारेन्टी गरिएको छ ।

२) ऋणपत्रमा लगानी गर्दा लगानीकर्ताले कम जोखिममा वार्षिक रुपमा निश्चित प्रतिशत ब्याज प्राप्त गर्न सक्छन् । जसले गर्दा बचत तथा मुद्दती खाताहरुमा भईरहने ब्याज दर परिवर्तनले हुने जोखिम यसका लगानीकर्ताले उठाउनु पर्दैन ।

३) शेयरजस्तै ऋणपत्र धितोपत्र बजारमा पनि सुचिकृत हुने हुदा सजिलै किनबेच गर्न सकिन्छ । अन्य बैंकहरुमा धितो राखेर ऋण लिन सकिने र निर्धारित अवधि समाप्त भएपछि एकमुष्ठ भुक्तानी पाईने भएकाले लगानीकर्ताहरुलाई दीर्घकालीन रुपमा फाईदा नै हुने गर्छ ।

४) रकम फिर्ता हुने ऋणपत्र (रिडिमेबल डिबेञ्चर) तोकिएको समयमा साँवा र ब्याज भुक्तानी गर्ने शर्तमा निष्कासन गरिएको हुन्छ, जसले गर्दा लगानीकर्ताले साँवा रकमसमेत फिर्ता पाउछन् ।

कसरी गर्ने लगानी ? 

डिबेन्चर लगायतका अन्य शेयरहरु किनबेच गर्न बैंक खाता, डिम्याट खाता र कारोबार खाता अनिवार्य छ । आफ्नो नाममा बैंक र डिम्याट खाता छैन भने पायक पर्ने बैंकमा खाता खोल्नुपर्छ । यसपछि बैंक र डिम्याट खाताको प्रमाण (स्टेटमेन्ट वा चिठी) सहित नागरिकताको फोटोकपि र फोटो लिएर अनुमतिप्राप्त स्टक ब्रोकरको कार्यालयमा गएर ग्राहक परिचय (केवाईसी) फारम भर्दै ‘कारोबार खाता’ खोल्न सकिन्छ । ‘कारोबार खाता’ खोलेपछि विशेष ग्राहक परिचय नम्बर पाइन्छ र सोही नम्बर नै कारोबारका लागि प्रयोग हुन्छ । 

यसका साथै आफ्नो डिम्याट खातामा भएको धितोपत्रको जानकारी लिन र बिक्री गरिएको सेयर विद्युतीय प्रणालीबाट कम्प्युटर वा मोबाइलबाट हस्तान्तरण गर्न सीडीएस एनड क्लियरिङ (सीडीएससी) ले उपलब्ध गराउने ‘मेरो सेयर’को सेवा लिन सकिन्छ । 

यसका लागि पनि आफ्नै इमेल ठेगाना हुनुपर्छ ।अनलाइन कारोबारका लागि भने ब्रोकरसँग थप सम्झौता गर्नुका साथै २५ प्रतिशत रकम धरौटी राखेर युजरनेम र पासवर्ड लिएर इन्टरनेटका माध्यमबाट कारोबार गर्ने वेबसाइट (टिएमएस) मा प्रवेश गरी मोवाइल वा कम्प्युटरबाट धितोपत्र किनबेच गर्न सकिन्छ ।

शेयर किनबेच गर्नु केही दिन ब्रोकर कार्यालयमा गएर खरिद–बिक्रीको तरिका, भुक्तानी विधि, सेयर छान्ने तरिका, लागत–लाभ र जोखिम बारेमा व्यावहारिक ज्ञान लिनु राम्रो हुन्छ । नेप्सेको वेबसाइट वा कम्पनी र अन्य अनलाइट साइटहरूबाट पनि धेरै कुरा सिक्न सकिन्छ ।

कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरका लगानीकर्ताहरुलाई लाभांश वितरण गर्नुअघि ऋणपत्र धनीलाई ब्याज दिनुपर्छ । कम्पनीले नोक्सानमा गएको बर्ष शेयर लगानीकर्ताहरुलाई लाभांश नबाड्ने भए पनि ऋणपत्र धनीलाई अनिवार्य रुपमा ब्याज भुक्तान गर्नुपर्छ ।

कतिपय ऋणपत्र शेयरका रुपमा परिणत हुने खालका समेत हुन्छन । तर, नेप्सेमा सूचीकृत नभएका ऋणपत्रको कारोबार नभएकाले ती ऋणपत्रको मूल्य स्थिर रहन्छ । बार्षिक रुपमा एकनासको आम्दानी ढुक्कले चाहने लगानीकर्ताहरुका लागि ऋणपत्र लगानीको उत्तम विकल्प हुने देखिन्छ ।