काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले कात्तिक ९ गतेदेखि १६ गतेसम्मको एक साताको अवधिमा विभिन्न कसुरमा संलग्न तथा शंकास्पद गतिविधिमा रहेका ७४५ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत कैद तथा जरिवानाको सजाय फैसला भई फरार रहेका ८२ जना कसुरदार पक्राउ परेका छन्। त्यस्तै, चालु मुद्दाका २० जना प्रतिवादी, २०८२ भदौ २३ र २४ गतेको घटनाका क्रममा कारागारबाट फरार भएका २ जना तथा हिरासतबाट फरार भएका १ जना थुनुवालाई नियन्त्रणमा लिएको छ।
यसैगरी, सार्वजनिक स्थल, यातायातका साधन, भिडभाड हुने क्षेत्र तथा रात्रिकालीन समयमा सार्वजनिक शान्ति सुव्यवस्था र मर्यादाविपरीतका गतिविधि गर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकमाथि अभद्र व्यवहार गर्ने वा गर्न सक्ने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउने उद्देश्यले सञ्चालन हुँदै आएको ‘सर्च एण्ड स्वीप अपरेशन २४्७–३६५ अभियान’ अन्तर्गत ६४० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक सोधपुछ तथा अनुसन्धान गरी सम्झाई बुझाइ छाड्नेदेखि प्रचलित कानुनबमोजिम अन्य कारबाहीसमेत गरिएको प्रहरीले जानकारी दिएको छ। यसका साथै, चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले सञ्चालन गरिएको चाडपर्व लक्षित सुरक्षा योजना पनि निरन्तर जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।






About Us
प्रतिक्रिया