नक्कली नोटसहित मोहमद मुस्तुफा हुसेन र समिर मिया पक्राउ 


काठमाडौं – प्रहरीले नेपाली नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको कल्याणपुर बस्ने  मोहमद मुस्तुफा हुसेन र  समिर मिया रहेका छन्। 

सिरहाको सिरहा नगरपालिका– ७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडक खण्डमा नक्कली नेपाली नोट जस्तो देखिने रकमसहित २ जना पैदल हिँडिरहेका छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरूको साथबाट ५ सय दरका ३ थान र १ हजार दरका २४ थान गरी जम्मा २५ हजार ५ सय बराबरका नक्कली नोट जस्तो देखिने रकम बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई राखी थप अनुसन्धान कार्य भइरहेको छ।