गोलबजारका तत्कालीन नगर प्रमुखसहित सात जनाविरुद्ध मुद्दा दायर, १ करोड ६० लाख बिगो माग


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगर प्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगले आर्थिक वर्ष २०७७\७८ र २०७८\७९ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारको राजस्व सङ्कलन तथा ठेक्का व्यवस्थापनमा अनियमितता भएको आरोप लगाउँदै कुल १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरेको जनाएको छ। आयोगका अनुसार मुद्दामा तत्कालीन नगर प्रमुख तेली, तत्कालीन उपप्रमुख रेशम कुमारी थापासहित सात जनालाई प्रतिवादी बनाइएको छ।

अनुसन्धानका क्रममा गोलबजार नगरपालिकाले वडा नं. ६ र ७ मा रहेका पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारको राजस्व सङ्कलन गर्ने जिम्मेवारी प्रतिस्पर्धाबिना अमानतमा ठेकेदार वीरेन्द्र कुमार यादवलाई दिएको पाइएको आयोगको आरोप छ। आयोगका अनुसार नगर कार्यपालिकाको २०७८ साउन ४ गतेको बैठकबाट बुझाउनुपर्ने राजस्वमध्ये २७ लाख ३४ हजार ९१३ रुपैयाँ छुट दिने निर्णय गरिएको थियो। उक्त निर्णय नगरपालिकाको आर्थिक ऐन तथा प्रचलित कानुनविपरीत रहेको आयोगको ठहर छ।

त्यस्तै, २०७८ साउन १४ गतेको नगर कार्यपालिकाको निर्णयअनुसार हाटबजारको राजस्व सङ्कलन गर्ने जिम्मेवारी प्रतिस्पर्धाबिना ठेकेदार यादवलाई अमानतमा दिइएको र उठेको राजस्व नगरपालिकाको सञ्चित कोषमा दाखिला गराउनुपर्ने रकम असुल नगरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २७ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिइएको तथा आर्थिक वर्ष २०७८÷७९ मा १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा असुल नगरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याइएको आरोप छ। उनीहरूमाथि सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याई गैरकानुनी लाभ लिने बदनियतले काम गरेको आरोप लगाउँदै कानुनबमोजिम सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।