कास्कीबाट बैंकिङ्ग कसुरका दुईसहित पाँच फरार प्रतिवादी पक्राउ


काठमाडौं – कास्की प्रहरीले बैंकिङ्ग कसुरका दुई जनासहित विभिन्न कसुरमा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले कास्की जिल्ला अदालतबाट विभिन्न कसुरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये दुई जना सम्बन्ध विच्छेदसम्बन्धी कसुर, दुई जना बैंकिङ्ग  कसुर र एक जना चोरीसम्बन्धी कसुरका प्रतिवादी रहेका छन्। पक्राउ परेका पाँचै जनाबाट कुल चार महिना २४ दिन कैद सजाय र ६ लाख ४३ हजार ७२६ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई आवश्यक कारबाही तथा कैद र जरिवाना कार्यान्वयनका लागि कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।