नेपाल प्रिमियर लिग

आजदेखि नेपाल प्रिमियर लिग सुरु हुँदै, डेढ अर्ब रुपैयाँ कारोबारको अपेक्षा

प्रधानमन्त्री बालेनले उद्घाटन गर्ने


काठमाडौं – आजदेखि तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सुरु हुँदैछ। यसअघि सफलतापूर्वक दुई संस्करण सम्पन्न भइसकेको नेपाल प्रिमियर लिगको तेस्रो संस्करण टियू क्रिकेट मैदानमा आजदेखि सुरु हुन लागेको हो।

आगामी एक महिनासम्म चल्ने प्रतियोगितामा विभिन्न सहरका ८ वटा टोली प्रतिस्पर्धा गर्दैछन्। उद्घाटन खेल साँझ ५ बजेदेखि सुरु हुनेछ। जसमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदुरपश्चिम रोयल्सबीच भिड्नेछन्।

नेपाल क्रिकेट एसोसिएसन (क्यान)का सचिव पारस खड्काका अनुसार यसपटकको प्रिमियर लिगमा डेढ अर्ब रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ। क्यानले यसअघि नै टेलिभिजन र ओटीटी राइट बेचेर ३० करोड रुपैयाँभन्दा बढी संकलन गरिसकेको छ।

यसबाहेक, टिकट बिक्री र स्पोन्सरहरुबाट समेत मोटो रकम संकलन हुनेछ। जसले एनपीएलको कारोबार रकम डेढ अर्बभन्दा बढी आँकलन गरिएको छ।