नक्कली नोटसहित भारतीय नागरिक पक्राउ


झापा- झापामा ३५ हजार रूपैयाँ भारतीय नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार दमक नगरपालिका–६ स्थित देवकोटा चोकबाट बुधबार बेलुका उनीहरूलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा भारतको किशनगन्जका अब्दुल माजिद र रुवेद आलमलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले माजिदको साथबाट भारतीय ५०० दरका ७० थान नोट बरामद गरेको थियो। बरामद नोटका अधिकांश नम्बर दोहोरिएको पाइएपछि नक्कली भएको आशङ्कामा परीक्षणका लागि नेपाल राष्ट्र बैंक विराटनगर पठाइएको थियो।

बैंकबाट गरिएको परीक्षणमा बरामद नोट नक्कली रहेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए। उनका अनुसार नक्कली नोटसहित पक्राउ परेका दुवै जनाविरुद्ध मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।