काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित ८ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप पत्र विशेष अदालत, काठमाडौंमा दायर गरेको छ।
आयोगका अनुसार हुम्लाको अदानचुली गाउँपालिका–कुकुर फाल्ना छहराखेतदेखि मुगुको सोरू गाउँपालिका–३, भिईसम्म विद्युत् विस्तारका लागि विनियोजित रकमबाट वास्तविक कामभन्दा बढी मूल्यांकन गरी भुक्तानी गरेको उजुरीमाथि अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन गरिएको उक्त विद्युत् विस्तार योजनामा फिल्डमा भएको वास्तविक कामभन्दा बढी कार्यसम्पादन देखाइएको आयोगको दाबी छ। त्यसका लागि नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल तथा योजना अनुगमन र भुक्तानीका लागि सिफारिसलगायतका कागजात तयार गरी भुक्तानी गराइएको आयोगले जनाएको छ।
आयोगका अनुसार उनीहरूले आपसी मिलेमतोमा वास्तविक रूपमा भएको कामभन्दा बढी ९ लाख २६ हजार भुक्तानी गरी गैरकानुनी लाभ लिएको आरोप छ। आयोगले तत्कालीन कार्यालय प्रमुख रिमालसहित ८ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय र बिगो असुलउपरको मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ।






About Us
प्रतिक्रिया