काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको अनुदान रकम हिनामिना गरेको आरोपमा तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित १० जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट राइनास नगरपालिकालाई १६ लाख ७२ हजार रुपैयाँ सशर्त अनुदान उपलब्ध गराइएको थियो। उक्त रकम आर्थिक वर्षको अन्त्यमा सङ्घीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने भए पनि उनीहरूले फिर्ता नगरी तत्कालीन रोजगार संयोजक न्यौपानेले पेश्की लिएको अख्तियारले जनाएको छ।
आयोगका अनुसार पेश्कीबापत लिएको रकम अन्य प्रतिवादीहरूको बैंक खातामा जम्मा गरिएको थियो। तर उक्त रकमबाट तोकिएको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको नदेखिएको र हालसम्म पेश्की फर्छ्यौटसमेत नभएको अख्तियारको आरोप छ।
त्यसैगरी, न्यौपानेले राइनास नगरपालिकाबाट २०७६ वैशाख १६ गते बुझेको एक थान ल्यापटप, एक थान प्रिन्टर र एक थान क्यामेरा आफू कार्यालयबाट २०७७ कात्तिक १ गते बर्खास्त भएपछि पनि बरबुझारथ नगरेको आयोगले जनाएको छ। आयोगका अनुसार ती सरकारी सामग्रीको परल मूल्य १ लाख ६७ हजार २५६ रुपैयाँ रहेको छ। साथै, अनुदानको १६ लाख ७२ हजार रुपैयाँ हानिनोक्सानी भएको गरेको अख्तियारले जनाएको छ। आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सजाय तथा बिगो मागदाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।






About Us
प्रतिक्रिया