काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार चीनको सीमामा रोकिएको सामान आयात गर्न स्वीकृति दिलाइदिने भन्दै अधिकारीले ह्वाट्सएपमार्फत सेवाग्राहीसँग घुस तथा रिसवत रकम मागेको सम्बन्धमा उजुरी परेको थियो।
सोही उजुरीमाथि अनुसन्धान गर्दा अधिकारीले आफ्नो पद तथा ओहदाको दुरुपयोग गर्दै अन्य व्यक्तिहरूसँगको मिलेमतोमा खाद्य आयात अनुमति तथा विभागबाट प्रदान हुने सार्वजनिक सेवामा सहजीकरण गरिदिने भन्दै घुस रकम लिएको पुष्टि भएको आयोगको दाबी छ। अनुसन्धानका क्रममा अधिकारीसहित बसन्त कुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठसमेतले विभिन्न बैंक खातामार्फत रकम आदानप्रदान गरेको पाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार अर्जुन अधिकारीको नेपाल बैंकको खातामा २५ हजार रुपैयाँ र प्रभु बैंकको खातामा १ लाख १४ हजार रुपैयाँ, बसन्त कुमार बस्याल क्षेत्रीको माछापुच्छ्रे बैंक खातामा ८ लाख ९४ हजार ५०० रुपैयाँ, रश्मिता श्रेष्ठको ग्लोबल आईएमई बैंक खातामा १४ लाख ९३ हजार ३७५ रुपैयाँ तथा सुरेश चौधरीको प्रभु बैंक खातामा २ लाख ६९ हजार रुपैयाँ जम्मा गरिएको थियो। यसरी विभिन्न बैंक खातामा जम्मा गरिएको रकमको कुल २८ लाख २० हजार ३७५ रुपैयाँ रहेको आयोगले जनाएको छ। आयोगले अर्जुन अधिकारी, बसन्त कुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा मोजिम सजायको मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।






About Us
प्रतिक्रिया