काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई समयअनुकूल बनाउँदै नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका छन्। भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तार दुई देशबीचको साझेदारीलाई थप प्रभावकारी बनाउन अपरिहार्य रहेको बताए।
नेपालले हालै बेहोरेको प्राकृतिक विपद् र त्यसबाट भएको जनधनको क्षतिबारे चर्चा गर्दै उनले संकटको समयमा भारत सरकार र भारतीय जनताले गरेको सहयोगप्रति आभार व्यक्त गरे। विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपालले ‘बिल्ड ब्याक बेटर’ अवधारणालाई दृढतापूर्वक कार्यान्वयन गरिरहेको उनले जानकारी दिए।
जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीले यसको गम्भीर असर खेपिरहेको उल्लेख गर्दै वाग्लेले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दा नेपाल र भारतले संयुक्त रूपमा अघि बढाउनुपर्ने बताए। परम्परागत सहायता ढाँचाभन्दा माथि उठेर विकास वित्त, हरित वित्त तथा सहुलियतपूर्ण वित्तीय उपकरणको अधिकतम परिचालन गर्नुपर्नेमा पनि उनले जोड दिए।
अर्थमन्त्री वाग्लेले विद्यमान नेपाल–भारत व्यापार सन्धिमा समयअनुकूल सुधार गर्दै व्यापार घाटा न्यूनीकरण र गैरभन्सार अवरोध हटाउनुपर्ने आवश्यकता औंल्याए। नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत तथा कानुनी सुधार गरिएको उल्लेख गर्दै उनले ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधिको क्षेत्रमा भारतबाट प्रत्यक्ष वैदेशिक लगानी बढाउन भारतीय पक्षलाई आह्वान गरे।
उनले वर्तमान सरकार नेपाली जनताको बलियो जनादेशबाट बनेको उल्लेख गर्दै तीव्र विकास र आर्थिक रूपान्तरणको जनआकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए। नीतिगत स्थायित्व र संस्थागत सुधारमा आधारित विकास आवश्यक रहेको भन्दै उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनलाई सरकारको प्राथमिकता भएको बताए।
गोलमेच संवादमा भारतका वरिष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ, रणनीतिकार तथा अर्थशास्त्री सहभागी थिए। कार्यक्रमको आयोजना स्थलसमेत रहेको इन्डिया इन्टरनेसनल सेन्टरका अध्यक्ष तथा नेपालका लागि पूर्व भारतीय राजदूत एवं पूर्व विदेश सचिव श्याम शरणले संवादमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
कार्यक्रममा भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा राज्य सभा सदस्य जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन, पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार पंकज शरण, अर्थशास्त्री प्रा. डा. दीपक नायर, आईटीपीओका अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राय, भाजपा विदेश मामिला विभाग प्रमुख डा. विजय चौथाइवाले, दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटी अध्येता डा. कन्स्ट्यान्टिनो जेभियरलगायत सहभागी थिए।






About Us
प्रतिक्रिया