काठमाडौं – भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक तथा द्विपक्षीय भेटघाटमा सहभागी हुँदैछन्। तीनदिने भ्रमणका क्रममा उनी बिहीबार भारत प्रस्थान गरेका थिए। भारत सरकारको निमन्त्रणामा नयाँदिल्ली पुगेका अर्थमन्त्री वाग्लेले बिहीबार नै भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए। शुक्रबार भने उनको उच्चस्तरीय कूटनीतिक संवाद, भारतीय विदेशमन्त्रीसँगको भेटवार्ता तथा नेपाल–भारत आर्थिक सहकार्यसम्बन्धी छलफलमा सहभागिता रहनेछ।
अर्थमन्त्री वाग्ले शुक्रबार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा हुने कार्यक्रममा उनले आफ्नो धारणा राख्ने कार्यक्रम छ। त्यसपछि अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्नेछन्। भेटवार्ता शुक्रबार साँझ ५ बजेका लागि तय गरिएको छ। भेटमा नेपाल–भारत सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने कार्यक्रम छ।
शुक्रबार नै भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री वाग्ले सहभागी हुनेछन्। भारत मण्डपममा हुने उक्त कार्यक्रममा नेपाल–भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे छलफल हुने बताइएको छ। भ्रमणको तेस्रो दिन शनिबार अर्थमन्त्री वाग्ले भारतीय निजी क्षेत्र तथा अन्य उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन्। शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने औद्योगिक घरानाहरूसँगको सम्मेलनमा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम छ।
त्यसपछि दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा पनि अर्थमन्त्री वाग्ले सहभागी हुनेछन्। भ्रमणका बाँकी कार्यक्रममा निजी क्षेत्रसँगको भेटघाट तथा आर्थिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। अर्थमन्त्रीको भारत भ्रमणमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्। तीनदिने भ्रमण पूरा गरी अर्थमन्त्री वाग्लेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल शनिबार नेपाल फर्कने कार्यक्रम छ।






About Us
प्रतिक्रिया