स्रोत नखुलेको नगद ४७ लाखसहित तीन जना पक्राउ 


काठमाडौं –  काठमाडौं र धनुषाबाट प्रहरीले स्रोत नखुलेको नगद ४७ लाखसहित तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित किम्चि रेष्टुरेण्टबाट स्रोत नखुलेको नगद ३४ लाख ९५ हजार रुपैयाँसहित २ जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा अर्घाखाँची सन्धिखर्क नगरपालिका– २ घर भएका ४२ वर्षीय सन्तोष भुषाल र पर्सा वीरगंज महानगरपालिका– २१ घर भएका ४० वर्षीय प्रबेश महत्तो रहेका छन्। प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।

साथै, धनुषाको धनौजी गाउँपालिका –२ बाट स्रोत नखुलेको नगद १३ लाख ६५ हजार रूपैयाँसहित भारत मधुवनी ग्राम खौना बस्ने ३५ वर्षीय राधाकान्त बयारलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरीले लखौरीबाट गोरदाहातर्फ आउँदै गरेको बीआर ३२ बिबि १८९९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।