प्रतिकूल बकपत्र गरेको आरोपमा रसुवा कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्र राज आचार्यविरुद्ध भ्रष्टाचार मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार सागरनाथ वन विकास परियोजनाको व्यवस्थापनमा रहेको जग्गाबाट उत्खनन गरिएको वन पैदावारको रोयल्टी असुल नगरी राजस्व चुहावट तथा भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आचार्यलाई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो। 

विशेष अदालतमा दर्ता भएको उक्त मुद्दाको अनुसन्धानका क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गर्दै प्रमाण संकलनमा समेत सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम आचार्यलाई सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा पेस गरिएको आयोगले जनाएको छ।

तर, विशेष अदालत, काठमाडौंमा २०८३ भदौ १० गते बकपत्र गर्दा आचार्यले आयोगका अनुसन्धान अधिकृतसमक्ष दिएको बयानको विपरीत हुने गरी बकपत्र गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ। आयोगले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) बमोजिमको कसुरमा मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको ठहर गरेको छ। रसुवा कन्स्ट्रक्सनले बागमती नगरपालिकासँग सम्झौता गरी खरिद गरेको ३ हजार घनमिटर नदीजन्य पदार्थको रकम ९ लाख ५३ हजार ४ सय ९६ रुपैयाँ ९० पैसा बिगो कायम गरी आरोपपत्र दायर गरेको छ।