काठमाडौं – मेगा ड्रिम बहुउद्देश्यीय संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको छविसपाथिभेरा गाउँपालिका–४, झुटेडा घर भई हाल काठमाडौंको तारकेश्वर बस्ने महाशंकर रेग्मी रहेका छन्। उनलाई काठमाडौं महानगरपालिका–४ चण्डोल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका रेग्मीलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु, काठमाडौं पठाइएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार, मेगा ड्रिम बहुउद्देश्यीय संस्था लिमिटेडको रकम हिनामिना भएको भन्दै विभिन्न व्यक्तिहरूले छुट्टाछुट्टै जाहेरी दिएका दिए।
रामचन्द्र सिपाईंसहित १६२ जनाको जाहेरीका आधारमा २१ करोड ५६ लाख ९३ हजार ६६९ रुपैयाँ तथा थप ५९ जनाको जाहेरीका आधारमा २ करोड ६२ लाख ३६ हजार १७१ रुपैयाँ रकम हिनामिना भएको आरोपमा प्रहरी वृत्त बौद्धमार्फत ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
त्यस्तै, १५६ जनाको जाहेरीका आधारमा १५ करोड ४ लाख ८६ हजार ३ रुपैयाँ ६५ पैसा बिगो रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त बालाजुमार्फत पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा फरार रहेका रेग्मी पक्राउ परेपछि घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार उक्त घटनासम्बन्धी कसुरमा प्रहरी वृत्त बालाजुमा हालसम्म थप ४६ जनाको जाहेरीसमेत प्राप्त भइसकेको छ।






About Us
प्रतिक्रिया