काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाको उपाध्यक्ष अन्जु नाछिरिङ राईसहित दुईजना जनामाथि मुद्दा दायर गरेको छ। आयोगले गाउँपालिका उपाध्यक्ष राईसहित उनका छाेरा सुनिल नाछिरिङ राईविरुद्ध मुद्दा दायर गरेको हाे।
आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सोताङ गाउँपालिकामा सञ्चालन भएको ९० कार्यदिनको ढाका सिलाइ–बुनाइ तालिममा प्रशिक्षकको रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले सेवाग्राहीसँग ४५ हजार रुपैयाँ घुस मागेकी थिइन्। राईले उक्त रकम आफ्नो नाममा नभई छोराको बैंक खाताको क्यूआर कोडमा जम्मा गर्न लगाएको खुल्न आएको छ।
राईले आफ्नो पद तथा पदीय जिम्मेवारीको दुरुपयोग गर्दै तालिमको प्रशिक्षकका रूपमा काम दिलाउने तथा तालिममा सहजीकरण गरेबापत घुस लिएको देखिएको आयोगले जनाएको छ। आयोगले उपाध्यक्ष राईले छोरा सुनिलसँगको मिलेमतोमा घुस रकम लिन लगाएको निष्कर्ष निकाल्दै ४५ हजार रुपैयाँलाई बिगो कायम गरेको छ। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१० ) बमोजिमको कसुरमा कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबी लिइएको छ।






About Us
प्रतिक्रिया