रामेछाप – रामेछापको मन्थलीमा नसालु पदार्थ सेवन गराई एक महिलालाई बेहोस बनाएर सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मन्थली नगरपालिका–१ का ३६ वर्षीय सीताराम लोहार र गोकुलगंगा गाउँपालिका–२ दोर्जेका ५३ वर्षीया मैया कार्की रहेका छन्। प्रहरीका अनुसार लोहार मन्थलीस्थित न्यू सनराइज ज्वेलर्सका सञ्चालक हुन्।
प्रहरीमा प्राप्त सूचनाका आधारमा शंकास्पद स्थानमा जडान गरिएका सीसीटीभी फुटेजको जाँच गर्दा उनीहरू चोरीको घटनामा संलग्न रहेको र चोरी भएको सुनको गहना खरिद–बिक्रीसमेत गरेको देखिएपछि दुवैलाई पक्राउ गरिएको हो।प्रहरीका अनुसार मन्थली नगरपालिका–६, नौरीकी ५४ वर्षीया विभा माझीलाई अपरिचित महिलाले नसालु पदार्थ सेवन गराई बेहोस बनाएको र त्यसपछि उनको दुवै कानमा लगाएको सक्कली सुनको बेरुवा रिङ निकालेर त्यसको सट्टामा नक्कली गहना लगाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले लोहारको ज्वेलर्सबाट पीडितको कानबाट निकालिएको १४ लाल १ प्वाइन्ट तौलका सुनका रिङ दुई थान बरामद गरेको जनाएको छ। त्यस्तै, कार्कीको घरबाट पहेँलो रङको धातुको बेरुवा रिङ दुई थान, औँठी एक थान, फुली दुई थान, कीप्याड मोबाइल चार थान, नगद ७ हजार ३ सय रुपैयाँ, कालो रङको झोला तथा घटनामा प्रयोग गरिएको भनिएको गाढा रातो ज्याकेट, रातो कुर्ता र सुरुवाल बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई रामेछाप जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया