प्रधानमन्त्रीसँग छलफल सकेर फर्किँदै गर्दा बैंकिङ कसुर मुद्दामा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिकाका अध्यक्ष


काठमाडौँ – बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई सोमबार सिंहदरबारको मुख्य गेटबाटै नियन्त्रणमा लिएको हो।

आर्थिक लेनदेन तथा बैंकिङ कसुर (चेक अनादर) मुद्दामा उच्च अदालत तथा प्रहरीको सूचीमा फरार प्रतिवादीका रूपमा रहेका तामाङ प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारमा बोलाएको बैठकमा सहभागि बनेर फर्किने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) दिलिप घिमिरेका अनुसार, तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दायर भई अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढेको थियो।

प्रहरीका अनुसार अरुण अर्यालको जाहेरीका आधारमा तामाङविरुद्ध दरबारमार्ग वृत्तमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो। अदालतमा मुद्दासमेत दायर भइसकेको अवस्थामा फरार रहेका उनलाई अब मङ्गलबार अदालत पेस गरी म्याद थप गरेर थप कानुनी कारबाही अगाडि बढाइनेछ।