काठमाडौंको भुरुङ्खेलबाट ५२ प्रकारका अवैध पटाकासहित सुजन कपाली पक्राउ


काठमाडौं – काठमाडौंको भुरुङ्खेलस्थित एक घरमा अवैध रूपमा लुकाइराखिएको ठूलो परिमाणका पटाकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भई हाल काठमाडौंको भुरुङ्खेल बस्दै आएका सुजन कपाली रहेका छन्।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले कपालीको कोठामा छापा मारेको थियो। गैरकानुनी रूपमा बिक्री–वितरण गर्ने उद्देश्यले पटाका भण्डारण गरी राखिएको सूचनाका आधारमा प्रहरीले उनको कोठामा छापा मारेको जनाएको छ।

छापा मार्ने क्रममा प्रहरीले विभिन्न ५२ प्रकारका पटाका बरामद गरेको जनाएको छ। बरामद गरिएका पटाकामध्ये रकेट बम ४९० पिस, लिओपार्ड किङ ७०० पिस, ट्राइटन इलेक्ट्रोनिक ५२५ पिस, किङ कोब्रा ३ हजार १६६ प्याकेट, सुलती बम १८५ पिस, सुप्रिम क्विन डिक्स ६३४ पिस र गन गन २० प्याकेट (१ हजार पिस) लगायत ठूलो परिमाणका पटाका रहेका छन्।

प्रहरीले कपालीलाई नियन्त्रणमा लिई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान गरिरहेको जनाएको छ।