काठमाडौं – नक्कली टिकटक आईडी बनाएर सस्तो मूल्यमा विद्युतीय (ईभी) स्कुटर, मोटरसाइकल तथा विभिन्न पार्टपुर्जा उपलब्ध गराइदिने भन्दै अनलाइन ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीका २१ वर्षीय सन्दिप कुमार सिंह कुशुवाह, २१ वर्षीय सुमित दास र महोत्तरीका २२ वर्षीय दिपुश सिंह रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले ‘सर्टिफाइड ईभी सेलर प्रोफाइल’ नामको नक्कली टिकटक अकाउन्ट सञ्चालन गरी सस्तो दरमा ईभी स्कुटर, मोटरसाइकल तथा विभिन्न पार्टपुर्जा घरमै डेलिभरी गरिदिने भन्दै विज्ञापन पोस्ट गर्ने गरेका थिए।
विज्ञापनमा विश्वास गरी सम्पर्क गर्ने ग्राहकबाट सामान खरिदका लागि अग्रिम रकम पठाउन लगाउने र रकम प्राप्त भएपछि सम्पर्कविहीन हुने गरेको पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले अनुसन्धान अघि बढाउँदै तीनै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया