ब्राण्डेड चामलको बोरामा कमसल चामल प्याकिङ गरी बिक्री गर्ने मुकेश कुमार पक्राउ


काठमाडौं – ब्राण्डेड चामलको बोरामा कमसल चामल प्याकिङ गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले काठमाडौंमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१०, तीनटोलियाका ४८ वर्षीय मुकेश कुमार भन्ने मुकेश सिंह रहेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१४, कुशेश्वरस्थित न्यु प्रकाश खाद्य उद्योगमा ‘भान्सा घर ब्रान्डको बोरामा कमसल चामल प्याकिङ गरी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उद्योगमा चेकजाँच गर्दा ‘भान्सा घर’ लेखिएको २० किलोका तीन बोरा कमसल चामल फेला पारेको थियो। त्यसक्रममा उद्योगमा काम गर्ने व्यक्तिसँग सोधपुछ गर्दा उक्त चामल काठमाडौंको बाफलस्थित केशरी नन्दन खाद्य स्टोर तथा श्री गढीमाई प्याकेजिङ उद्योगबाट खरिद गरी बिक्री गरिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीले श्री गढीमाई प्याकेजिङ उद्योगको गोदाममा खानतलासी गर्दा  ‘लङ ग्रेन प्रिमियम स्पेसल राइस’  लेखिएको ‘भान्सा घर’ ब्राण्डका २७ बोरा चामल फेला पारेको थियो। साथै, खाली चामलका बोरा १० थान र ‘जय श्री फुड्स’ लेखिएको चामलको बोरा सिल गर्न प्रयोग हुने प्लास्टिकका स्टिकर १० थानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराधसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट म्याद थप गरी प्रहरी वृत्त कालीमाटीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।