५० हजार घुससहित विद्युत् प्राधिकरण इटहरीका इन्जिनियर कृष्ण नारायण यादव पक्राउ


इटहरी -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत इन्जिनियर (सातौँ तह) कृष्ण नारायण यादवलाई घुससहित नियन्त्रणमा लिएको छ।

अख्तियारका अनुसार गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना तथा उजुरीका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

यादवलाई सेवाग्राहीबाट घुसबापत लिइसकेको ५० हजार रुपैयाँ सहित सुनसरीको इटहरी उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। उक्त रकमबाहेक यादवको साथबाट स्रोत नखुलेको थप १२ हजार ८५ रुपैयाँ समेत बरामद गरिएको आयोगले जनाएको छ। यससँगै यादवबाट कुल ६२ हजार ८५ रुपैयाँ बरामद भएको छ।

 विशेष अदालतको आदेशबाट भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ।