सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


सिरहा -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७८\७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत माछाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्दा सम्झौताअनुसार किसानलाई सामग्री वितरण नगरी झुट्टा बिल–भरपाईका आधारमा बढी भुक्तानी लिने–दिने कार्य भएको पाइएको हो।

औरही गाउँपालिका र प्रगतिशील कृषक समूह, औरही–४ बीच १५ लाख रुपैयाँमा सम्झौता भएकोमा माछाका भुरा, दाना, चुना लगायतका सामग्री सम्झौताअनुसार वितरण नगरी काम सम्पन्न भएको देखाएर ८ लाख २ हजार ८ सय  बढी भुक्तानी गरिएको आयोगको दाबी छ। कुसियैतसहित ४ जनालाई प्रतिवादी बनाउँदै आयोगले ८ लाख २ हजार बिगो मागदाबी गर्दै  आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको जनाएको छ।