काठमाडौं र ललितपुरबाट १८ लाख बराबरको धनमाल चोरी


काठमाडौं – काठमाडौं र ललितपुरबाट १८ लाख २९ हजार बराबरको धनमाल चोरी भएको छ। काठमाडौं महानगरपालिका–१६ नयाँ बजार धारागल्ली डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–५ घर भएकी २९ वर्षीया तारा श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

साथै, ललितपुरको कोन्ज्योसोम गाउँपालिका– ४ सिलवालटोल बस्ने श्याम बहादुर सिलवालको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब १४ लाख ७५ हजार ६ सय रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ। प्रहरी चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।