दीपक भट्ट जोडिएको धितोपत्र तथा बीमा कसुरमा फरार चार जना पक्राउ


काठमाडौं – व्यवसायी दीपक भट्ट जोडिएको धितोपत्र तथा बीमा ऐनविपरीतको कसुरमा संलग्न रही फरार रहेका चार जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणबाट प्राप्त प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा ब्यूरोले उनीहरूलाई भदौ ८ गते पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी सदस्य ४२ वर्षीय सुभाष पौडेल रहेका छन्। उनी धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा फरार थिए। त्यस्तै, ललितपुर महानगरपालिका–२ बस्ने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य ४१ वर्षीया सुनिता महर्जन पक्राउ परेकी छन्। उनी धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा संलग्न रही फरार रहेको प्रहरीले जनाएको छ।

साथै, बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा फरार रहेका काठमाडौं महानगरपालिका–१६ बस्ने नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य ४५ वर्षीय अनुप मालाकार पनि पक्राउ परेका छन्। त्यसैगरी, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थायी वतन भएकी तथा हाल भुम्लुटार वडा नं। ६ बस्ने नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चारै जनालाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ।