काठमाडौं – काठमाडौंको चौमतीबाट स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार विशेष सूचनाका आधारमा लागुऔषध कारोबारमा संलग्न रहेको आशङ्कामा खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका–१५, चौमतीस्थित घरमा भाडामा बस्दै आएका ५२ वर्षीय चिनियाँ नागरिक मा यागुबी पक्राउ परेका हुन्।
प्रहरीले उनको कोठामा खानतलासी गर्दा लागुऔषध भने फेला नपरेको जनाएको छ। तर, स्रोत नखुलेको नेपाली नगद ३१ लाखसहित विभिन्न सामान बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट पासपोर्ट, सुन काट्न प्रयोग हुने कैँची, ह्याम्मर, डिजिटल तराजु, क्यालकुलेटर, विभिन्न कम्पनीका चार थान मोबाइल फोन, एनआईएबी बैंकका दुई थान चेकबुक र एनआईसी एसिया बैंकको एक थान चेकबुक बरामद गरेको लागु औषध नियन्त्रण ब्युरो प्रवक्ता दुर्गा राज रेग्मीले बताए।
साथै, उनी यसअघि समेत नेपालमा पटक–पटक आएको र पछिल्लो पटक जुलाई २३, २०२६ मा नेपाल प्रवेश गरेको अभिलेखबाट देखिएको रेग्मीले बताए। रेग्मीका अनुसार, हालसम्म उनी छ पटक नेपाल आएर फर्किसकेको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा बुझाइएको रेग्मीले बताए।






About Us
प्रतिक्रिया