सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाखभन्दा बढीको भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सुडीले पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा आयोगले २०४६ वैशाख १६ गतेदेखि २०८१ जेठ ३२ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरेको जनाएको छ। उक्त अवधिमा सुडी र उनको एकाघर तथा सगोलमा रहेका परिवारका सदस्यले विभिन्न वैधानिक स्रोतबाट कुल ६ करोड ३ लाख ८५ हजार आय आर्जन गरेको आयोगको अनुसन्धानबाट खुल्न आएको छ। 

आयोगका अनुसार पारिश्रमिक तथा भत्ता, घरजग्गा बिक्री, एकासगोलको आय, ऋण तथा सापटी, शेयर बिक्री, बीमा परिपक्वता तथा समर्पण, कृषि, छात्रवृत्ति, ब्याज, ऋण–सापटी फिर्ता र सुन बिक्रीलगायतका स्रोतबाट उक्त वैधानिक आय प्राप्त भएको हो। तर सोही अवधिमा सुडीले जग्गा तथा शेयर खरिद, सवारीसाधन खरिद, बीमा प्रिमियम, अध्ययन खर्च, ऋण तथा सापटी भुक्तानी, बैंक मौज्दात, ऋण तथा सापटी लगानी, जग्गा खरिदसम्बन्धी कमिसन तथा अन्य खर्च गरी कुल ९ करोड ७५ लाख ६९ हजार खर्च तथा लगानी गरेको आयोगले जनाएको छ।

वैधानिक आयभन्दा कुल खर्च तथा लगानी ३ करोड ७१ लाख ८४ हजार बढी देखिएपछि उक्त रकमको स्रोत पुष्टि हुन नसकेको आयोगको निष्कर्ष छ। आयोगले सो सम्पत्ति सुडीले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको दाबी गरेको छ। अनुसन्धानका क्रममा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति उनकी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत रहेको देखिएको आयोगले जनाएको छ।

आयोगले सुडीमाथि  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुनसमेत मागदाबी लिइएको छ। साथै, आयोगले सुडीकी श्रीमती सुमित्रा देवीलाई भने सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरेको जनाएको छ।