वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३२  लाख ३८ हजार ठगी गर्ने ६ जना पक्राउ 


काठमाडौं – वैदेशिक रोजगारीको विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ६ जनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाकी पेमा लामा, ओखलढुङ्गाकी तोम कुमारी थापा, झापाकी सुष्मा भण्डारी, साजन खनाल, सिन्धुलीकी करिना देवकोटा र रुपन्देहीका दीपक थापा रहेका छन्। 

पक्राउ पर्नेहरुमा लामाले रोमानिया पठाइदिन्छु भन्दै १ लाख, थापाले माल्टा पठाइदिन्छु भन्दै १ लाख ३५ हजार, सुष्माले चेक रिपब्लिक पठाइदिन्छु भन्दै ५ लाख ३५ हजार, साजनले लिथुआनिया पठाइदिन्छु भन्दै २ लाख ५० हजार, करिनाले फिनल्याण्ड पठाइदिन्छु भन्दै १२ लाख र दीपकले बुल्गेरिया, स्लोभाकिया पठाइदिन्छु भन्दै १० लाख १८ हजार ठगी गरेको प्रहरीले जनाएको छ। 

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरिएको हो। उनीहरूलाई पक्राउ गरी  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।