आठ लाख बराबरको भन्सार छलीका सामानसहित भारतीय नागरिक शोकत अली पक्राउ


काठमाडौं – क्षेत्रपाटीबाट प्रहरीले बिल–बीजक बिनाका विभिन्न धातुका गरगहना तथा पत्थरसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको राजस्थान राज्य, जयपुर सहरका शोकत अली रहेका छन्। 

अवैध रूपमा धातुका गरगहना तथा पत्थर बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले चेकजाँच गरेको थियो। सो क्रममा एक गाडीमा बिल बिनाका विभिन्न धातुका गरगहना तथा पत्थर फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य  ८ लाख रहेको छ।  प्रहरीले उनको साथबाट  विभिन्न प्रकारका माला, झुम्का, औँठी, लकेट, बाला, पाउजु, ब्रासलेट तथा अन्य धातुका गरगहना, विभिन्न रंग र आकारका पत्थर बरामद गरेको छ।

 नियन्त्रणमा लिइएका अलीलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ।