काठमाडौं – २० वटा वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८२/०८३ को अपरिस्कृत वित्तीय वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तिय विवरण अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत १९ वटा वाणिज्य बैंकहरूमध्ये १५ वटा वाणिज्य बैंकहरूको लाभांश बाँड्न सक्ने क्षमता उच्च रहेको छ। बाँकी ४ वटा बैंक भने लाभांश वितरण गर्न नसक्ने अवस्थामा छन्।
सार्वजनिक विवरणअनुसार बैंकहरुको लाभांश वितरण क्षमता सरदरमा १५ प्रतिशत छ भने एक बैंकको लाभांश वितरण क्षमता ३८ प्रतिशत छ। सो अवधिमा ८ वटा वाणिज्य बैंकहरु आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल दिन सक्ने अवस्थामा छन्। जसमध्ये एभरेष्ट बैंकको लाभांश वितरण क्षमता ३८.२७ प्रतिशत देखिएको छ।
यसैगरी, दोस्रो स्थानमा रहेको सिद्धार्थ बैंकको लाभांस क्षमता २६.१४ प्रतिशत देखिएको छ। त्यस्तै, सानीमा बैंकको २०.८५ प्रतिशत, नबिल बैंकको १९.१० प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंकको १९.०३ प्रतिशत लाभांश क्षमता उनीहरुले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरणमा देखिएको छ।
त्यसैगरी, नेपाल बैंकको लाभांश वितरण क्षमता १५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकको १२.०१ प्रतिशत, नेपाल एसबीआई बैंकको ११.०४ प्रतिशतसम्मको लाभांश क्षमता रहेको छ। साथै, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक र कुमारी बैंकले भने एकल अंकको लाभांश क्षमता बनाएका छन्।
जसमा प्राइम कमर्सियल बैंकले ९.१० प्रतिशत, एनएमबी बैंकले ९.०७ प्रतिशत, माछापुच्छ्रे बैंकले, ७.५१ प्रतिशत लाभांश क्षमता बनाएको छ। त्यस्तै, लक्ष्मी सनराइज बैंकले ६.७९ प्रतिशत, कृषि विकास बैंकले ६.५४ प्रतिशत, सिटिजन्स बैंकले, ३.३७ प्रतिशत र कुमारी बैंकले २.६३ प्रतिशत प्रतिफल वितरण गर्न सक्ने क्षमता बनाएको छ।

हिमालयन, एनआईमबी, प्रभु र एनआईसीको क्षमता शून्य
२० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हिमालयन बैंक, एनआइएमबी बैंक, प्रभु बैंक र एनआइसी एसिया बैंकको लाभांश क्षमता शून्य रहेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हिमालयन बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड नाफा आर्जन गरेपनि बैंकको वितरण योग्य नाफा भने ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहेको छ। जबकि, अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा बैंकको यस्तो नाफा ८ अर्ब ८५ लाखले ऋणात्मक थियो।
त्यस्तै, एनआइएमबी बैंकको वितरण योग्य नाफा ५ अर्ब रुपैयाँले ऋणात्मक रहेको छ। बैंकको अघिल्लो आर्थिक वर्ष २ अर्ब ४५ करोडले ऋणात्मक थियो। त्यसैगरी, गत आर्थिक वर्षको अवधिमा प्रभु बैंकले २४ करोड रुपैयाँ घाटा ब्यहोरेको छ। यससँगै बैंकको वितरणयोग्य नाफा समेत ६ अर्ब ३१ करोड रुपैयाँले ऋणात्मक छ। साथै, एनआइसी एसिया बैंकले सो अवधिमा १८ करोड रुपैयाँ नाफा कमाएपनि वितरणयोग्य मुनाफा भने ऋणात्मक रहेको छ।
बैंकको अघिल्लो आर्थिक वर्षमा वितरणयोग्य मुनाफा १० अर्ब रुपैयाँले ऋणात्मक रहेकोमा गत आर्थिक वर्षमा यस्तो नाफा १४ अर्ब रुपैयाँले ऋणात्मक रहेको छ। यससँगै, यी ४ बैंकको आफ्ना लाभांश बाँड्न सक्ने क्षमता शून्य रहेको छ।
बढ्यो बैंकहरुको मुनाफा
गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले झन्डै ७० अर्ब नाफा आर्जन गरेका छन्। बैंकहरूले गत आर्थिक वर्षमा कुल ६९ अर्ब ८८ करोड नाफा आर्जन गर्दा कुनै बैंकको लाभांश क्षमता उच्च राखेका छन् भने कुनै बैंकको क्षमता शून्य छ। बैंकको नाफामा सुधार देखिएपनि प्रतिशेयर आम्दानी (ईपीएस) र बैंकको वितरण योग्य नाफामा सुधार ल्याउन नसक्दा वा नाफा घट्दा बैंकहरूको लाभांश तलमाथि भएको छ।
यो वर्ष बैंकहरुको ‘लोन रिकभरी’ बढेसँगै १९ वटा वाणिज्य बैंकहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै १७ अर्ब बढीको नाफा आर्जन गर्दा समेत केही बैंकहरूको भने लाभांश क्षमता घटेको छ। तर सिद्धार्थ बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा लाभांश क्षमता दोब्बर बढाएको छ। बैंकको अघिल्लो आर्थिक वर्षमा वितरणयोग्य मुनाफा १ अर्ब ८३ करोड रहेकोमा गत आर्थिक वर्षमा यस्तो मुनाफा ३ अर्ब ८६ करोड पुग्दा लाभांश क्षमता दोब्बरले बढेको हो।
त्यस्तै, वितरणयोग्य मुनाफा बढ्दा सानीमा बैंकले समेत यो वर्ष लाभांश क्षमता बढाएको छ। अघिल्लो आर्थिक वर्ष बैंकको लाभांश क्षमता १५.४८ प्रतिशत रहेकोमा गत वर्ष २०.७५ प्रतिशत कायम गरेको छ। समग्रमा यो वर्ष ९ बैंकले लाभांश क्षमता बढाएका छन् भने ६ बैंकको लाभांश क्षमता घटेको छ।






About Us
प्रतिक्रिया