झापा – सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा एक जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार शाहविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगले जारी गरेको विज्ञप्तिअनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने नाममा सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको आरोपमा शाहविरुद्ध आरोपपत्र दायर गरिएको हो। अख्तियारको कार्यालय इटहरीमा परेको उजुरीका आधारमा खटिएको टोलीले वडा सचिव शाहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र कानुनबमोजिम उपलब्ध गराउनुपर्ने जिम्मेवारी हुँदाहुँदै शाहले आफ्नो पद र अधिकारको दुरुपयोग गर्दै नियतवश ढिलासुस्ती गरेको आयोगको निष्कर्ष छ। दर्ता प्रक्रिया सहजीकरण गरी प्रमाणपत्र उपलब्ध गराइदिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ।
आयोगका अनुसार शाहको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर ठहर भएको भन्दै बिगो १० हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना र कैद सजायको मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हाे।






About Us
प्रतिक्रिया