काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पार्किङ गरी राखिएका स्कुटरको डिकी नक्कली चाबी प्रयोग गरी खोलेर नगद तथा सामान चोरी गरेकाे आरोपमा मोरङका सोबित कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सीसीटीभी फुटेजमा देखिएको हुलियाका आधारमा अनुसन्धान तथा खोजतलास गर्ने क्रममा कार्कीलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार कार्कीको साथबाट विभिन्न कम्पनीका स्कुटरको डिकी खोल्न प्रयोग हुने २१ वटा चाबी र नेपाली नगद १ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले काठमाडौं उपत्यकाका विभिन्न आठ स्थानमा पार्किङ गरी राखिएका स्कुटरको डिकी नक्कली चाबी प्रयोग गरी खोलेर नगद तथा अन्य सामान चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया