लमजुङका तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी न्यौपानेसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको जिल्ला शिक्षा कार्यालयका तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपाने र आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप पत्र दायर गरेको छ। आयोगका अनुसार सुन्दरबजार नगरपालिका–स्थित आदर्श बाल माध्यमिक विद्यालयमा माध्यमिक तहमा कार्यरत शिक्षक केसीले आफू विस्थापित शिक्षक भएको झुटा विवरण पेस गरी शिक्षक सेवा आयोगको आन्तरिक परीक्षामा सहभागी भएको आरोप छ।

२०६३ मा नेपाल सरकारको निर्णयअनुसार अस्थायी रूपमा विस्थापित शिक्षकलाई एक पटक आन्तरिक प्रतिस्पर्धामा सहभागी गराउने व्यवस्था गरिएको थियो। तर, आयोगको अनुसन्धानबाट केसीले उक्त व्यवस्थाअन्तर्गतको योग्यता पूरा नगरेको देखिएको खुल्न आएको छ।

शिक्षक सेवा आयोगले मिति २०६१ मङ्सिर १५ गते अस्थायी शिक्षकका लागि विज्ञापन प्रकाशित गरेको थियो। त्यसअघि नै २०६१ असार २ गते केसीले प्राथमिक तहको स्थायी शिक्षक पदमा नियुक्ति लिइसकेको आयोगको अनुसन्धानबाट खुलेको छ। त्यसपछि उनले माध्यमिक तहको शिक्षक पदको परीक्षामा सहभागी भई स्थायी नियुक्ति लिएको आयोगको दाबी छ।

अनुसन्धानका क्रममा केसीले आफू विस्थापित शिक्षक नभएको तथा स्थायी शिक्षक भएपछि राजीनामा दिएकोसमेत स्वीकार गरेको आयोगले जनाएको छ। आयोगका अनुसार शिक्षक सेवा आयोगको विज्ञापनमा आवेदन दिने शिक्षक विस्थापित वा अस्थायी रूपमा कार्यरत रहेको विवरण सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट प्रमाणित गर्नुपर्ने व्यवस्था थियो। केसीले पेस गरेको उक्त विवरण न्यौपानेले स्वीकृत गरेको अनुसन्धानबाट देखिएको आयोगको भनाइ छ।

आयोगले केसीले झुटा विवरण पेस गरी योग्यता नपुगेको अवस्थामा माध्यमिक तहको स्थायी शिक्षक पद प्राप्त गरेको र न्यौपानेले उक्त झुटा विवरण प्रमाणित गरी सहयोग गरेको निष्कर्ष निकालेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुरजन्य कार्य भएको ठहर गर्दै आयोगले उनीहरुविरुद्ध कानुनबमोजिम सजायको माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ।