आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, लहान, सिरहाका कर अधिकृत युवराज एम.एस.पालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार कर अधिकृत पालले आर्थिक वर्ष २०७८\७९ को पूर्ण कर लेखापरीक्षण तथा कर निर्धारणका क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरीका आधारमा अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पाँच लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा पालले विभिन्न व्यवसायिक तथा औद्योगिक फर्म तथा कम्पनीको लेखापरीक्षण र कर निर्धारण गर्दा सेवाग्राहीले पेस गरेका बिल–बिजक नमिलेको भन्दै काम रोकिने तथा समस्या हुने देखाएर रकम माग्ने गरेको खुलेको अख्तियारले जनाएको छ। आयोगका अनुसार पालसँग सम्बन्ध र मिलेमतो भएका चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवमार्फत सेवाग्राहीसँग रकमको बार्गेनिङ गरी पाँच लाख रुपैयाँ घुस लिएको पुष्टि भएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) बमोजिमको कसुरमा उनीहरुलाई कैद तथा पाँच लाख रुपैयाँ बिगो बराबर जरिवानाको मागदाबी गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगले जनाएको छ।