काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले वैदेशिक रोजगारीका नाममा नेपाली युवालाई ठगी गर्नेहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शाहीले वैदेशिक रोजगारीका क्रममा ठूलो संख्यामा नेपाली युवा विभिन्न प्रकारका ठगीमा पर्ने गरेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्,’वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न सरकारसँग हामी जोडदार माग गर्दछौँ।’ शाहीले हरेक वर्ष डेढ लाखभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका नाममा विभिन्न किसिमका ठगीमा पर्ने गरेको दाबी गरेका छन्। उनले ठगीमा संलग्न व्यक्तिहरू राजनीतिक दल र सत्ता परिवर्तनसँगै पुनः राजनीतिक पहुँचको केन्द्रमा पुग्ने गरेको आरोपसमेत लगाए।
‘हिजो सत्ताधारी पार्टीमा बसेर जनतालाई ठग्नेहरू आज सत्ता परिवर्तनसँगै पार्टी परिवर्तन गरेर फेरि सत्ताकै वरिपरि देखिन्छन्,’उनले लेखेका छन्। अब यस्तो अवस्था अन्त्य हुनुपर्नेमा जोड दिँदै शाहीले ठगी गर्ने व्यक्तिको राजनीतिक आबद्धता, पहुँच वा पद नहेरी अपराधका आधारमा कानुनी कारबाही गर्नुपर्ने बताएका छन्। उनले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि सरकारले कडाइका साथ कदम चाल्नुपर्ने र दोषीलाई राजनीतिक संरक्षण नदिई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्।







About Us
प्रतिक्रिया