४७ लाख बराबरको ११ किलो चाँदीका गरगहनासहित पदम बहादुर र खगेन्द्र पक्राउ 


काठमाडौं – काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट बिल बिजक नभएका करिब ४७ लाख रुपैयाँ बराबरको ११ किलो ६ सय ८२ ग्राम तौलको चाँदीका विभिन्न गरगहना तथा तयारी सामानहरूसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका–६ बस्ने ३६ वर्षीय पदम बहादुर विक र उर्लाबारी नगरपालिका–६ बस्ने ४४ वर्षीय खगेन्द्र गजमेर रहेका छन्। 

अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङबाट खटिएको प्रहरीले को.१ च ८६६२ नम्बरको सुमो जाँच गर्दा उक्त गरगहना तथा सामानहरू फेला पारी चालक पदम र सुमोमा सवार खगेन्द्रलाई पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरण पठाइएको प्रहरीले जनाएको छ।