जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई १५ लाखसम्म सहुलियतपूर्ण कर्जा


काठमाडौं – सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई लक्षित गरी १५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३ जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

संशोधित कार्यविधिअनुसार जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई ८८स्वरोजगार उद्यम कर्जा८८ उपलब्ध गराइनेछ। यस्तो कर्जाको अधिकतम सीमा १५ लाख रुपैयाँसम्म तोकिएको छ। कर्जाका लागि नेपाल सरकार वा प्रचलित कानूनबमोजिम तोकिएको निकायबाट सम्बन्धित व्यक्ति जेनजी आन्दोलनमा शहीद परिवार वा घाइते भएको प्रमाणित हुनुपर्ने व्यवस्था गरिएको छ।

कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग, स्टार्टअप उद्यम र नेपाल सरकारले समय–समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारमूलक व्यवसायलाई समावेश गरिएको छ ।

सरकारले सहुलियतपूर्ण कर्जाको दायरामा जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई समेट्दै उनीहरूलाई स्वरोजगार र उद्यमशीलतामार्फत आर्थिक रूपमा सक्षम बनाउने उद्देश्य लिएको देखिएकाे छ ।