एनआईडी तथा ई–केवाईसी अपडेटका नाममा अनलाइन ठगी


काठमाडौं – एनआईडी तथा ई–केवाईसी अपडेट गर्ने बहानामा साइबर ठगी बढिरहेको छ। बैंक खाता वा व्यक्तिगत विवरण माग्ने नक्कली फोन, मसेज र लिंकहरूबाट सतर्क रहन नेपाल प्रहरीको साइबर ब्युरोले आग्रह गरेको छ। 

एनआईडी तथा ई–केवाईसी अपडेट गर्नुपर्ने भन्दै बैंकको कर्मचारी बनेर फोन, म्यासेज तथा ह्वाट्सएप मार्फत सम्पर्क गरी ओटिपी, पिन पासवर्डलगायत गोप्य विवरण माग्ने क्रम बढेकाले सेवाग्राहीलाई सतर्क रहन आग्रह गरेको छ। 

साइबर ठगीमा संलग्न व्यक्तिहरूले बैंक वा डिजिटल वालेटका कर्मचारी भएको बहाना बनाई खाताको विवरण अपडेट गर्नुपर्ने भन्दै ग्राहकसँग ओटिपी तथा अन्य संवेदनशील बैंकिङ्ग जानकारी माग्ने गरेका छन्। यस्तो अवस्थामा ग्राहकले कुनै पनि हालतमा ओटिपी, पिन, पासवर्ड वा अन्य गोप्य विवरण उपलब्ध गराउन नहुने बताएको छ। 

बैंक तथा डिजिटल वालेटले फोन वा मेसेजमार्फत ग्राहकको ओटिपी नमाग्ने समेत ब्युरो बताएको छ। साथै, अपरिचित व्यक्तिले पठाएको लिंकमा क्लिक नगर्न तथा शङ्कास्पद वेबसाइट वा एपमा बैंकिङ्ग विवरण प्रविष्ट नगर्न पनि आग्रह गरेको छ।