काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडासहित ९ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी हिनामिना गरेको आरोपमा सुनसरीको तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडासहित ९ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१४, दुईधारेस्थित नरसिंह भगवान मन्दिरको नाममा कायम रहेको साविक भादगाउँ सिनवारी गाविस–४क का कित्ता नं. १ र ४ गरी कुल १० कट्टा ५ धुर जग्गा मिलेमतोमा व्यक्तिको नाममा नामसारी गरिएको थियो। अनुसन्धानका क्रममा साविक सिंगिया गाविस र धरान नगरपालिका–१४ वडा कार्यालयबाट झुट्टा बेहोराको सर्जमिन मुचुल्का तयार गरिएको तथा सोही आधारमा नाता प्रमाणित प्रमाणपत्रसमेत बनाइएको आयोगले जनाएको छ।
त्यसपछि धरान नगरपालिकाले उक्त जग्गा मन्दिरका तत्कालीन पुजारी टिर्रु चौधरीको नाममा नामसारी गर्न मालपोत कार्यालय, सुनसरीलाई सिफारिस गरेको थियो। मालपोत कार्यालय, सुनसरीले २०६५ जेठ २१ गते जग्गा नामसारी गर्ने निर्णय गरेको आयोगको अनुसन्धानबाट खुलेको छ। मन्दिरको नाममा रहेको उक्त सार्वजनिक जग्गा गैरकानुनी रूपमा नक्कली जग्गाधनी खडा गरी चौधरीको नाममा दर्ता कायम गरिएपछि बिक्रीसमेत गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०८२\८३ को न्यूनतम मूल्याङ्कनअनुसार उक्त १० कट्टा ५ धुर जग्गाको मूल्य ३६ लाख १० हजार रुपैयाँ रहेको छ। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) तथा दफा १९ को उपदफा (२) अन्तर्गत भ्रष्टाचारजन्य कसुर भएको ठहर गर्दै आयोगले ३६ लाख १० हजार बिगो दाबी गरी विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।







About Us
प्रतिक्रिया