काठमाडौंबाट ७६ लाखभन्दा बढी हुण्डी रकमसहित जितेन्द्र साह तुरहा पक्राउ


काठमाडौं – काठमाडौंको कुलेश्वरबाट स्रोत नखुलेको हुण्डी कारोबारको रकमसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको छिपहरमाई घर भइ काठमाडौंको कुलेश्वर बस्ने जितेन्द्र साह तुरहा रहेका छन्।

काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल मण्डीमा रहेको आँचल फ्रुट सेन्टरमा स्रोत नखुलेको रकमको हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाको कालीमाटी शाखाबाट खटिएको संयुक्त टोलीले पसल तथा कोठामा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा पसल सञ्चालक तुरहाको साथबाट र कोठाबाट स्रोत नखुलेको नेपाली नगद ७६ लाख २७ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै, उनको साथबाट प्रहरीले भारतीय नगद ३ लाख ४ हजार ३ सय रुपैयाँ समेत फेला परेको छ।

बरामद रकमसहित साहलाई नियन्त्रणमा लिएर हुण्डीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।