काठमाडौं – प्रहरीमा भर्ना गराइदिने भन्दै एक आवेदकबाट १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। ठगी आरोपमा पर्वतका ४६ वर्षीय हरि बहादुर रसाइलीलाई प्रहरीले पक्राउ गरेकाे हाे। रसाइली काठमाडाैंकाे बबरमहलबाट पक्राउ परेका हुन्।
प्रहरीका अनुसार रसाइलीले आफूलाई ‘मुक्ति समाज नेपाल’को सदस्य बताउँदै प्रहरी प्रधान कार्यालय,नक्सालको विज्ञापन नम्बर ०२०–०८१र०८२ अन्तर्गत प्रहरी सहायक निरीक्षक पदमा खुलातर्फ आवेदन दिएका एक परीक्षार्थीलाई लक्षित गरेका थिए। लिखित लगायतका सबै परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ता बाँकी रहेका ती आवेदकलाई उनले गृह मन्त्रालयका विशिष्ट अधिकारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको र अन्तर्वार्तामा नाम निकालिदिने भन्दै विश्वास दिलाएको प्रहरीले जनाएको छ।
त्यसका लागि ‘सेटिङ मिलाउन’ १० लाख रुपैयाँ लाग्ने बताएपछि पीडितबाट आफ्नो बैंक खातामा १० लाख रुपैयाँ पठाउन लगाएको अनुसन्धानबाट खुलेको छ। उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा रसाइलीविरुद्ध यसअघि पनि प्रहरी वृत्त लैनचौरमा दर्ता भएको १ लाख १८ हजार रुपैयाँ बराबरको बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए।








About Us
प्रतिक्रिया