काठमाडौं – नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमिति निर्वाचन आगामी शुक्रबार हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा अध्यक्षसहित नयाँ कार्यसमितिका लागि तीन प्यानल चुनावी मैदानमा छन्। जिस्वाँ तुलाधर श्रेष्ठ, युबिका भण्डारी र भरतजंग पाण्डेको नेतृत्वमा रहेका प्यानलबीच हुने त्रिपक्षीय प्रतिस्पर्धालाई पर्यटन क्षेत्रमा चासोका साथ हेरिएको छ।
अध्यक्ष पदकी उम्मेदवार तथा नाट्टाकी वर्तमान महासचिव युबिका भण्डारीले आधुनिक सोच, प्रविधिको प्रयोग र समयसापेक्ष रूपान्तरणलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन्। ‘पर्यटन उठे, नेपाल उठ्छ’ भन्ने नारासहित उम्मेदवारी दिएकी भण्डारीले नाट्टालाई थप व्यावसायिक, पारदर्शी, प्रविधिमैत्री र परिणाममुखी संस्था बनाउने प्रतिबद्धता जनाएकी छन्।
पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव र नाट्टाको कार्यसमितिमा लगातार छ वर्षको संलग्नता रहेको भण्डारीले सन् २०२० देखि संयुक्त कोषाध्यक्ष, सचिव हुँदै हाल महासचिवको जिम्मेवारी सम्हाल्दै आएकी छिन्। सन् २०११ देखि उनी शशीज होलिडेज इन्टरनेसनल ट्राभल एन्ड टुर्सकी प्रबन्ध निर्देशकका रूपमा कार्यरत छिन्।
वास्तुकलामा स्नातक तथा पोखरा विश्वविद्यालयअन्तर्गत एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट कार्यकारी एमबीए गरेकी भण्डारीले उत्कृष्ट शैक्षिक नतिजाका लागि नेपाल विद्याभूषण ‘क’ तथा कुलपति स्वर्ण पदक प्राप्त गरेकी छन्। सन् २००५ देखि नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता इन्जिनियरसमेत रहेकी उनी इन्जिनियरिङ र व्यवस्थापन पृष्ठभूमिलाई पर्यटन नेतृत्वसँग जोड्दै अघि बढेकी छन्।
प्रविधि र संस्थागत सुधार प्राथमिकतामा
भण्डारीले नाट्टालाई प्रतिक्रियात्मकभन्दा पूर्वतयारीसहितको संस्थाका रूपमा विकास गर्ने बताएकी छन्। उनका प्रमुख एजेन्डामा सञ्चार तथा निर्णय प्रक्रिया प्रविधिमैत्री र पारदर्शी बनाउने, काठमाडौं बाहिरका प्रदेश तथा गन्तव्यका व्यवसायीको सहभागिता बढाउने, सरकारसँग नीतिगत समन्वय बलियो बनाउने र देशभर क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने विषय छन्। बदलिँदो विश्व पर्यटन बजारअनुसार नयाँ प्रविधि, उत्पादन र बजारसँग नेपाली पर्यटन व्यवसायलाई जोड्नुपर्नेमा पनि उनले जोड दिएकी छन्।
स्वास्थ्य तथा आरोग्य पर्यटनमा जोड
नयाँ पर्यटन उत्पादन विकासको सम्भावनाका रूपमा भण्डारीले स्वास्थ्य तथा आरोग्य पर्यटनलाई प्राथमिकता दिएकी छन्। सन् २०२५ मा नाट्टा, नेपाल लगानी बोर्ड र एसियाली उत्पादकत्व संगठनको सहकार्यमा सञ्चालित स्वास्थ्य तथा आरोग्य पर्यटनसम्बन्धी क्षमता विकास कार्यक्रमको परियोजना नेतृत्व उनले गरेकी थिइन्।
अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा भूमिका
नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने क्रममा भण्डारीले नाट्टा र नेपाल पर्यटन बोर्डको सहकार्यमा स्पेनको म्याड्रिडमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलामा नेपालको सहभागिता समन्वय गरेकी छन्। चीन र मलेसिया लगायतका बजारमा सञ्चालन भएका पर्यटन प्रवर्द्धन अभियानमा पनि उनले भूमिका निर्वाह गरेकी छन्। नाट्टाको महासचिवका रूपमा उनले संस्थाको आर्थिक व्यवस्थापन, नीतिगत पैरवी तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वमा समेत काम गरेकी छन्।
सातै प्रदेशमा क्षमता विकास
पर्यटन क्षेत्रमा दक्ष जनशक्ति निर्माणलाई पनि भण्डारीले प्राथमिकता दिएकी छन्। सन् २०२२ देखि २०२४ सम्म उनले सातै प्रदेशमा २२ वटा पर्यटन तालिम कार्यक्रमको समन्वय गरेकी थिइन्, जसमा ७०० भन्दा बढी प्रशिक्षार्थी सहभागी भएका थिए। कोभिड–१९ महामारीपछि पर्यटन श्रमिकलाई रोजगारीमा फर्काउन सञ्चालन गरिएको छोटो अवधिको रोजगारी कार्यक्रमको समन्वयमा पनि उनको भूमिका रहेको थियो।
पर्यटनसँग सम्पदा जोड्ने प्रयास
भण्डारीको अनुभव पर्यटन प्रवर्द्धनमा मात्र सीमित छैन। उनले बुङमती सम्पदा पदयात्राको समन्वय गर्नुका साथै ललितपुर महानगरपालिकासँगको सहकार्यमा सम्पदा पदयात्रासम्बन्धी मोबाइल एप तथा पर्यटन पुस्तिका विकास परियोजनामा परियोजना व्यवस्थापकका रूपमा काम गरेकी छन्।
सरकारसँग नीतिगत सहकार्य
भण्डारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय स्वास्थ्य तथा आरोग्य दिवस समारोह समिति र विश्व पर्यटन दिवस पुरस्कार समितिमा सदस्यका रूपमा काम गरेकी छन्। परराष्ट्र मन्त्रालयको पर्यटन समिति तथा अर्थ मन्त्रालयअन्तर्गत बजेट विनियोजनसम्बन्धी समितिमा समेत उनी सहभागी भएकी छन्।
नाट्टाको आगामी निर्वाचनले नयाँ नेतृत्व चयनसँगै बदलिँदो पर्यटन बजारमा नेपालको निजी क्षेत्रले लिने दिशासमेत निर्धारण गर्ने अपेक्षा राखिएकाे छ। अध्यक्ष पदकी दाबेरदा भण्डारीले हवाई यातायातका चुनौती, डिजिटल प्रविधिको विस्तार, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, नयाँ पर्यटकीय उत्पादनको आवश्यकता तथा व्यवसायीका नीतिगत समस्याबीच भण्डारीले अनुभव र नयाँ सोचलाई जोड दिँदै संस्थागत सुधार, नीतिगत पैरवी, अन्तर्राष्ट्रिय बजार विस्तार, प्रविधिको प्रयोग र नयाँ पर्यटन उत्पादन विकासलाई प्राथमिकताका साथ आफ्नो एजेन्डामा राखेकी छिन्।








About Us
प्रतिक्रिया