६ लाख घुस लिएको आरोपमा चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्ली राज खड्का र लेखा अधिकृत मिलन कुमार भट्टराईविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार उनीहरुले पुलको पुनःडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट संयुक्त रूपमा खटिई गएको टोलीले खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा उनीहरुको आपसी मिलेमतो तथा योजनामा पुलको डिजाइन, पुनःडिजाइन, थर्ड पार्टी भेरिफिकेसन तथा भुक्तानी प्रक्रियासँग सम्बन्धित काममा सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग घुस लिएको अयोगले जनाएको छ।अख्तियारले उनीहरुलाई ६ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद तथा सोही ऐनबमोजिम बिगो बराबर जरिवाना सजाय मागदाबी गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।