स्थिर नीति तथा लगानीमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिन आवश्यक छ : अध्यक्ष पाण्डे


काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डेले स्थिर नीति तथा लगानीमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन्। नेपाल अटोमोबाइल्स इन्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोशिएशन (नाइमा) ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन्।

विगतका वर्षहरूमा देखिएका आर्थिक चुनौतीहरूबाट पाठ सिक्दै स्थिर सरकार, स्थिर प्रशासनिक संयन्त्र, स्थिर नीति तथा लगानीमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिन आवश्यक रहेको उनले बताएका हुन्।

नेपालको सबैभन्दा ठुलो शक्ति भनेको युवा जनशक्ति रहेको बताउँदै प्रत्येक वर्ष हजारौँ नेपाली युवा रोजगारीका लागि विदेश जाने गरेको समयमा हामीले उद्योग, पर्यटन, हरित प्रविधि तथा अनुसन्धान र मोबिलिटी क्षेत्रका सेवाहरूमा लगानी विस्तार गर्न सकेमा स्वदेशमै ठुलो मात्रामा रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए। उनले पर्यटन क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले नेपालको आर्थिक रूपान्तरण, औद्योगीकरण, रोजगारी सिर्जना तथा विभिन्न क्षेत्रको विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताए।

निजी क्षेत्रले वर्तमान सरकारबाट कानुनी सुधार, स्पष्ट नीति, सुशासन तथा पारदर्शिताको अपेक्षा गरेको बताए। यस्ता सुधारहरूले लगानीलाई प्रोत्साहन गर्ने र आर्थिक गतिविधिलाई थप गतिशील बनाउन सहयोग गर्नेछन्। नेपालमा आयोजना भइरहेको यो मोबिलिटी एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रमा नयाँ ऊर्जा, नयाँ सोच, नयाँ प्रविधि र नयाँ अवसर ल्याउने उनको भनाई छ।