निजी क्षेत्रको सफलता नै राष्ट्रको आर्थिक समृद्धिको आधार : अर्थमन्त्री डा. वाग्ले


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताएका छन्। नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँग आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको बताएका हुन्।

मुलुकको आर्थिक विकास कुनै एक मन्त्रालय वा नीतिको एकल प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उनले यसका लागि ‘होल अफ द नेशन’ (एकीकृत राष्ट्रिय दृष्टिकोण) आवश्यक रहेको स्पष्ट पारे। सरकारले निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई विकासको अभिन्न साझेदारका रूपमा हेर्ने उनको भनाइ छ।

‘चालु आर्थिक वर्षको बजेटमार्फत हामीले स्पष्ट सन्देश दिएका छौँ कि सरकारको प्राथमिकता केवल कर सङ्कलन मात्र होइन। हाम्रो मुख्य लक्ष्य उत्पादन, लगानी, नाफा र पुनरलगानीको चक्रलाई तीव्र बनाउनु हो,’ उनले भने।

उद्योगले कमाउने नाफाले पुनरलगानी बढाउने र त्यसबाट सिर्जना हुने रोजगारी र आम्दानीले अन्ततसः राज्यको राजस्वमा योगदान पुग्ने भन्दै उनले सरकार र निजी क्षेत्रको सम्बन्ध परिपूरक रहेको उल्लेख गरे। वैध रूपमा गरिएको लगानी र आर्जन गरिएको मुनाफाको सुरक्षा गर्ने पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता उनले व्यक्त गरे।