‘उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अभावको समस्या तत्कालै समाधान हुन्छ’


काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई अतिरिक्त ग्यास खरिद नगर्न अनुरोध गरेको छ। संघले विज्ञप्ति जारी गर्दै अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्कालै समाधान हुने बताएको हो।

अध्यक्ष दिवान बहादुर चन्दद्वारा विज्ञप्तिमा भनिएको छ,’ग्यास अभाव हुने आशंकामा उपभोक्तामा अनावश्यक रूपमा सिलिन्डर सञ्चय गर्ने, जगेडा राख्ने वा आवश्यकताभन्दा बढी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको परिप्रेक्ष्यमा ग्यास अत्यावश्यक भएका उपभोक्ताले ग्यास नपाएर दौडधूप गर्नुपर्ने अवस्था सिर्जना भएको छ’,‘तसर्थ उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ।’

नेपाल आयल निगमको विशेष पहलमा भारतको विभिन्न रिफाइनरीबाट सहजै हाल एलपी ग्यासको आयात करिब १५ प्रतिशतले बढेको संघले जनाएको छ।